जेन-जी पुस्ता
Sep 28, 2025
•
By superadmin
•
20 views
को हुन्, जेन-जी आन्दोलनमा घाइतेहरुको उद्धार गर्ने किशोरी ?
किशोरीले जुन मोटरसाइकलबाट २३ भदौमा घाइतेको उद्धार गरेकी थिइन्, त्यो मोटरसाइकल नै जल्यो, तत्कालै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिन्, सहयोग जुटेपछि मोटरसाइकल किनेर जिम्मा लगाइन्
किशोरी कार्की डेराबाट निस्किइन् । र, माइतीघरमा भइरहेको जेन–जी आन्दोलनस्थल पुगिन् । आन्दोलनकर्मीसँगै उनी पनि बानेश्वरतर्फ लागिन् ।
आन्दोलन बिस्तारै हिंस्रक बनेपछि भने उनी पाखा लागिन् । छेउमा बसेर आन्दोलन हेरिरहेकी उनी अकस्मात् गोली चलेको देखेपछि भने झस्किइन् ।
‘संसद् भवनको पारिपट्टि बसेर हेरिरहेकी थिएँ । एक बजेकै आसपास जस्तो लाग्छ, अचानक प्रहरीले गोली चलायो,’ उनले त्यो दिन सम्झिइन् । किशोरी नजिकै एक जना युवा ढले । ‘छातीमा गोली लागेका ती भाइ पीडाले छटपटाइरहेका थिए । मैले त्यो धेरैबेर हेर्न सकिनँ,’ उनले भनिन्, ‘नजिकै चाबीसहितको बाइक देखें । केही नसोची त्यसैमा ती युवालाई बोकेर सिभिल अस्पतालतर्फ लागें ।’
म द्वन्द्वपीडित हुँ भन्ने बारम्बार सुनाउँदा पनि बेवास्ता गरेका माओवादी अध्यक्ष दाहालले अहिले मलाई भेट्न खोज्नुभएको छ रे तर म जान्नँ
मोटरसाइकल धनी पछाडिबाट ‘मेरो बाइक’ भन्दै चिच्याइरहेका थिए । तर उनलाई सम्झाइबुझाइ गरेर उनले घाइतेलाई सिभिल अस्पताल दौडाइन् । अस्पताल त पुर्याइन् तर त्यहाँ उपचार सम्भव भएन । ‘सिभिल अस्पतालका डाक्टरले भाइलाई निकै गाह्रो भएको छ, टिचिङ लानुपर्छ भनेपछि एम्बुलेन्समा हालेर उतै लैजाने तयारी गर्यौं,’ किशोरीले सुनाइन्, ‘एम्बुलेन्सको अघि अघि मोटरसाइकलमा बाटो खाली गर्न भन्दै अस्पताल पुर्याएँ ।’
गोली लागेका भाइको रगत किशोरीको पिठ्युँभरि लतपतिएको थियो । त्यही लतपतिएको पोसाकमा उनी टिचिङबाट पुनः बानेश्वर फर्किइन् । र, बानेश्वर आएर मोटरसाइकल धनीलाई खोज्न थालिन् । ‘चिच्याई चिच्याई कराएँ । मेरो बाइक भनेर कोही आउनुभएन,’ उनले भनिन् । रगतमा लतपतिएको कपडा अनि हेल्मेट नलगाईकन हिँडेको देखेर ट्राफिक प्रहरीले रोके । र, त्यो मोटरसाइकल बग्गीखानामा लगिदिए । मोटरसाइकल बग्गीखानामा सुरक्षित होला भन्ठानेर उनी डेरातिर लागिन् ।
‘डेरा पुग्नेबित्तिकै नुहाएँ । नुहाएर निस्किनेबित्तिकै एक जनाले फोन गरेर तपार्इंले बाइकमा बोकेको भाइको मृत्यु भयो नि,’ उनले भनिन्, ‘त्यो खबरले मेरो मन अत्तालियो ।’ त्यसपछि कोठा छाडेर आफन्तकोमा गएको उनी सम्झिन्छिन् ।
त्यो राति किशोरी राम्रोसँग सुत्न पनि सकिनन् । दिनभरको घटनाले पिरोलिरह्यो । ‘बाइकवाला नभेटिएपछि एउटा भिडियो बनाएर हालेपछि सम्पर्कमा त आयो । तर घाइते भाइलाई बचाउनै सकिएन भन्ने चिन्ताले रातभर सुत्न दिएन,’ उनले भनिन् ।
२४ भदौ, मंगलबार ।
यस दिन पनि किशोरी बिहानै बग्गीखानातर्फ निस्कन खोजिन् । तर कर्फ्युका कारण बाहिर निस्किन पाइनन् । ‘तर ११ बजेतिर थोरै खुकुलो भएको थाहा पाएपछि निस्किएँ,’ किशोरीले भनिन् । कोटेश्वरमा उनले घाइते देखिन् । त्यहाँ पनि उनी उद्धारमा खटिइन् । एउटा बिरामी लिएर उनी सिभिल अस्पताल छिरिन् र भित्र बसेर बिरामीको हेरचाह गरिन् ।
मोटरसाइकल धनीले फोन गरेपछि सोमबारको घटना उनको मस्तिष्कमा दोहोरिएर आयो । ‘म त बिरामीको हेरचाहमै व्यस्त थिएँ । मोटरसाइकल धनीले फोन गरेपछि मात्रै बग्गीखाना गएँ । तर त्यहाँ आगो लागिसकेको रहेछ,’ किशोरीले भनिन्, ‘जहाँ सुरक्षित हुन्छ भनेर राखेको, त्यहीं जल्यो । अब रिपोर्ट लेखाउन पनि कहाँ जाने जस्तो भयो । त्यो मोटरसाइकल पठाओ गर्ने रहेछ ।’
एकातिर घाइतेहरूको पीर, अर्कोतर्फ ती मोटरसाइकल धनीको रोजीरोटी गुम्ने पीरले किशोरीलाई दुःखी बनायो । ‘बैतडीका शैलेन्द्र शाही ठकुरी हुनुहुँदो रहेछ । उहाँले त्यही मोटरसाइकलबाट जीविका चलाइरहनुभएको रहेछ । त्यही साधन जलेको देखेर निकै दुःख लाग्यो,’ किशोरीले भनिन् ।
तर किशोरीले हरेस् खाइनन् । शैलेन्द्रलाई सहयोग गर्ने बचन दिइन् । र, तत्कालै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिन् । केही घण्टादेखि नै उनको अपिलले काम गर्न थाल्यो । सहयोग जुट्दै गयो । र, त्यसबाट आएको पैसाले उनले शैलेन्द्रलाई मोटरसाइकल किनिदिइन् । ‘सुरुमा त यी भाइको उद्धार कसरी गर्ने भन्ने थियो । तर नेपालीहरू साह्रै सहयोगी हुनुहुँदो रहेछ । सहयोग जुट्यो । ४ असोजमा भाइलाई मोटरसाइकल किनेर दिएँ ।’
विगतले दिलाएको आँट
२३ र २४ भदौलाई हेर्दा किशोरी २३ वर्षअघि बेपत्ता भएका आफ्ना पिता सम्झिन्छिन् । ‘म २२ महिनाको छँदा तत्कालीन सरकार पक्षले मेरा आमा र बुबालाई अपहरण गरेको थियो । १५ महिनापछि आमा रिहा हुनुभयो । बुबा अझै बेपत्ता हुनुहुन्छ । न सास छ, न त आस नै ।’ गोली लागेर ढलेका युवाहरूमा पनि आफ्नै बुबालाई देखेको किशोरी सुनाउँछिन् ।
किशोरीका बा हिमालकाजी कार्की र आमा पशुपति बस्नेत माओवादीमा आबद्ध भएका कारण २०५८ सालमा आर्मीको अपहरणमा परेका थिए । ‘त्यस दिन मैले ती युवाहरूमा मेरा बुबालाई सम्झिएँ । त्यही कारणले म उहाँहरूको उद्धारमा खटिएकी हुँ ।’
आफ्नो साहसिक कामले गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भेट्न चाहेको पनि किशोरीले सुनाइन् । ‘म द्वन्द्वपीडित हुँ भन्ने कुरा बारम्बार सुनाउँदा पनि बेवास्ता गरेका दाहालले अहिले मलाई भेट्न खोज्नुभएको छ रे । तर म जान्नँ,’ उनले भनिन्, ‘यतिका समय उहाँहरूलाई हाम्रो अवस्थाबारे केही थाहा थिएन । अहिले आउँदा उहाँहरू कति स्वार्थी हुनुहुन्छ भन्ने स्पष्ट देखिन्छ ।’